
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल (तनहुँ) र प्रकाशमान सिंह (काठमाडौँ), नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल (रुपन्देही), रघुवीर महासेठ (धनुषा) र टोपबहादुर रायमाझी (अर्घाखाँची) तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (बाग्लुङ)बाट निर्वाचित हुनुभयो ।


पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका कृष्णप्रसाद सिटौला (झापा), सुजाता कोइराला (मोरङ) र विजयकुमार गच्छदार (सुनसरी)बाट पराजित हुनभयो । एमालेका नेता ईश्वर पोखरेल (काठमाडौँ) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा (मकवानपुर)बाट पराजित हुनुभयो । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव (सप्तरी) र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो (सर्लाही)बाट पराजित हुनुभयो ।
यसैगरी पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका विमलेन्द्र निधि समानुपातिक सूचीमा हुनुहुन्छ भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हाल राष्ट्रियसभा सदस्य हुनुहुन्छ । एमाले नेता डा भीमबहादुर रावल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा (माले)का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार रहनुभएको थिएन ।