काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षको अघिल्लो ६ महिनामा ४ अर्व ५६ करोड ६ लाख २९ हजार ७ हजार १२ रुपैयाँ २४ पैसा आन्तरिक राजस्व संकलन गरेको छ । उक्त रकम प्रस्तावित १० अर्व ४ करोड १९ लाख ५४ हजार रुपैयाँको ४३.८२ प्रतिशत रहेको छ।
राजस्व विभागको अनुसार सम्पत्ति करमा यस बर्ष १ अर्व रुपैयाँ प्रस्ताव गरिएको थियो । जसको ६५.२ प्रतिशत अर्थात् ६५ करोड २० लाख १० हजार ८ सय रुपैयाँ संकलन भएको छ । साथै २ अर्व ५० करोड रुपैयाँ प्रस्ताव गरिएको घर जग्गा रजिष्ट्रेसन दस्तुरको १५.५१ प्रतिशत अर्थात ३८ करोड ७८ लाख ७० हजार ८ सय रुपैयाँ संकलन गरिएको छ भने २ अर्व प्रस्ताव गरिएको वहाल करतर्फ १ अर्व १८ करोड १५ लाख ५१ हजार ४ सय रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ५९.०८ प्रतिशत हो ।
संविधानको अनुसूची ८ मा भएको व्यवस्था बमोजिम बहाल कर स्थानीय तहको एकल अधिकारभित्र पर्छ । तर, संघिय सरकारले संस्थागत बहाल कर आफ्नो क्षेत्राधिकारभित्र रहेको भन्दै आफैँ संकलन गरेको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले बताए। उनको अनुसार यसबाट करदातालाई पालिका र संघिय सरकारलाई दोहोरो कर बुझाउनु पर्ने परिस्थिति सिर्जना भएको छ । यस अवस्थाले एकातिर महानगरको अधिकार क्षेत्र मिचिएको छ भने अर्कोतिर लक्षित आय पूरा गर्न चुनौती भएको उनको भनाइ छ।
यस्तै नक्सापास दस्तुरमा ७५ करोड प्रस्ताव गरिएकोमा ४१ करोड ५७ लाख ८६ हजार ७४४ रुपैयाँ प्राप्त भएको छ । यो लक्ष्यको ५५.३ प्रतिशत प्रगति हो । ५५ करोड प्रस्ताव गरिएको व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३१ करोड ४२ लाख ९ हजार रुपैयाँ महानगरले संकलन गरेको छ ।
यस्तैगरि साना सवारी साधन करतर्फ रु लाख रुपैयाँ प्रस्ताव गरिएको थियो तर उक्त शीर्षकमा आय हुन सकेको छैन । बाँडफाँडबाट प्राप्त हुने अन्त शुल्क तर्फ पनि आय प्राप्त भएको छैन । वित्तिय निकायबाट प्राप्त हुने व्याजबाट १ लाख रुपैयाँ र अन्य निकायबाट प्राप्त लाभांसमा ५ लाख रुपैयाँ आय प्रस्ताव गरिएको थियो । तर यी दुवै शीर्षकमा आय प्राप्त भएको छैन । साथै २ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको पूँजीगत सशर्त अनुदान शीर्षकमा पनि राजस्व संकल हुन सकेको छैन।