
नवलपुर,फागुन २ । हृदयघातका कारण ज्यान गुमाउनु भएको नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का वडाध्यक्ष तबारक मियाको परिवारलाई आज कावासोती नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कावासोती नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले उठाएर ५ लाख रुपैयाँ सहयोग गरेको कावासोती ३ का वडाध्यक्ष एवम् कावासोती नगरपालिकाका नगर प्रवक्ता डोरमान गिरीले बताउनुभयो ।
कर्मचारीहरुबाट १ लाख ६ हजार रुपैयाँ र जनप्रतिनिधिहरुबाट ४ लाख १० हजार रुपैयाँ गरी ५ लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसाल, उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल ,वडाअध्यक्षहरु, कर्मचारीहरु सहितको टोलीले मृतक वडाध्यक्ष मियाको श्रीमती जन्नत मिया र उनका परिवारलाई हस्तान्तरण गरेको हो ।
मियाको गत माघ १९ गते राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशन चलेको समयमा हृदयाघातका कारण निधन भएको थियो । ३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् ।