आज देशभर माघे संक्रान्तिको मनाइँदै, यस्ता छन् यसका प्राचिन मान्यता – News Nepal Media
Trend

आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना पनि हो । यस दिन विभिन्न स्थानमा मेला उत्सव आयोजना गरि मनाइंदै छ।

आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।

यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउने गर्दछन।

थारु समुदायमा माघी


थारु समुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् । थारु समुदायमा आजको दिन येले दुगंका रूपमा लगभग नयाँ वर्षका रूपमा मनाइन्छ । आजकै दिन किराँत वंशले काठमाडौँ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरु भएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा धमार गीत गाउँदै रमाइलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ । आनन्दि नामक चामलको जाँड पश्चिमी थारु समुदायमा बहुत चर्चित छ । यसै गरी छोरीचेलीहरु माइत आउने र फर्कँदाखेरि ‘निसराउ’ अर्थात् उपहारहरू दिएर पठाउने चलन छ ।

मगर जातिको माघे सङ्क्रान्ति


माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरूको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरू सङ्क्रान्ति अघि नै जङ्गलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरूले धनुष काँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फल्याकमा अङ्गारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तीतेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरू चैँ साँझमा जम्मा भई घरघरमा गई बासी आन्द्रा पाई कि नपाई भन्दै सोध्दै रमाइलो गर्छन् ।

सनातन संस्कारमा तिलको महत्त्व, तिलुवा सङ्क्रान्ति
सनातन संस्कारमा तिलको विशेष महत्त्व रहेको छ। विशेष गरि होम जाप गर्नलाई होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृ कर्म अनि शुभ कार्यमा तिल अपरिहार्य मानिन्छ। आजको दिन तिलको पकवानका लागि प्रसिद्ध रहेको छ। तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार हुन्। यसर्थ माघे सङ्क्रान्ति लाई तिलुवा सङ्क्रान्ति पनि भन्ने गरिन्छ।

घ्यु चाकु खाने दिन
घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात् मुरैको लड्डु अनि च्यूराको लड्डु तयार गरि विशेष महत्वका साथ मनाइने माघे संक्रान्ति हो। आज घर घरमा तरुल, सखरखण्ड, पिँडालु उसिन्न बाँकी नै राखिंदैन। सबैको घरघरमा उसिन्ने गरियो होला। बिहानै सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा लगाई तात्तातो माघीको परिकार खान पाइए त गजब हुन्थ्यो।

नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’


नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइंदै छ। उनीहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको भएको हो।

मकर स्नानको धार्मिक र पौराणिक मान्यता


नदीनालाको देश नेपाल उद्गम बिन्दु भएको सनातन संस्कारमा जलाशयहरूमा गरिने स्नानको विशेष महत्त्व रहन्छ । यस्तै मध्य हिउँदको मकर स्नानको पनि विशेष महत्त्व रहन्छ । मकर सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ ।
यस दिनको धार्मिक र पौराणिक मान्यताका बारेमा चर्चा गरौँ, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्ख मूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो लागेको हुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP