कैलालीका महिला मतदाता भन्छन् ‘घर परिवारकै सल्लाहमा भोट दिन्छौँ’ – News Nepal Media
Trend

टीकापुर, १ मङ्सिर (रासस) ः मतदान नागरिकको ब्यक्तिगत अधिकार हो । मतदान गोप्य हुने भएकाले मानिसले आफूले इच्छाएको व्यक्तिलाई मत दिन पाउनुपर्छ तर कैलालीका महिलाका सवालमा यो निकै कममा लागू हुन्छ । कैलालीका महिला परिवार, समाज र घरका पुरुषले भनेकै व्यक्ति तथा दललाई मतदान गर्दै आएको बताउँछन् ।

कतिपय महिला उम्मेदवार राम्रो लागे पनि परिवारका कुरा काट्न नसक्दा मन नपरेका उम्मेदवारलाई पनि मतदान गर्नु परिरहेको बताउँछन् । कैलालीकी मैना साउँदले अहिलेसम्म जतिपटक मतदान गर्नुभयो सबै श्रीमान्ले भनेकै उम्मेदवार र दललाई मत दिनुभएको छ । अहिलेसम्म उहाँले फरक ब्यक्तिलाई मत दिनुभएको छैन ।

“अहिलेसम्म छ वटा निर्वाचनमा मतदानमा सहभागी भएकी छु । विगतदेखि नै श्रीमान् जसलाई मत देउ भन्नुहुन्छ, उसैलाई मत हालेर आउँछु”, मैना भन्नुहुन्छ, “एक दिन मत दिनुछ । त्यसमा पनि के विवाद गर्नु ? कहिलेकाहीँ उम्मेदवार चिनेको हुँदैन, मसँग कोही मत माग्न पनि आउँदैनन्, श्रीमान्सँगै कुरा गर्छन्, उहाँले भनेको मानिस नचिनेको भए पनि मत दिएकी छु ।”

कैलालीमा पाँच लाख ३५ हजार पाँच सय तीन मतदाता छन् । कैलालीमा पुरुषको तुलनामा महिला मतदाता धेरै छन् । कैलालीमा दुई लाख ७३ हजार आठ सय ८३ महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ६१ हजार छ सय २० छन् । कैलालीमा १२ हजार दुई सय ६३ महिला मतदाता बढी छन् । महिला मतदाता बढी भए पनि उनीहरू अधिकांशले पुरुषले भनेकै ठाउँमा मतदान गर्छन् ।

कैलालीकै टीकारानी डगौरा थारु र कुच्लीदेवी डगौराले पनि घरका मानिस र गाउँका बडघरले भनेकै मानिसलाई मतदान गर्ने गर्नुभएको छ र यसपटक पनि त्यही तयारी छ । “हामी त घरमात्र होइन गाउँकै मानिस बडघरले भनेको मानिसलाई मत दिन्छौँ, गाउँका पुरुषहरू बसेर सल्लाह गर्छन्, अनि बडघरले घरघर गएर फलानो उम्मेदवारलाई मत दिनु भन्नुहुन्छ”, टीकारानीले भन्नुभयो, “अहिलेसम्म हामीले दायाँबायाँ गरेका छैनौँ ।”

टीकापुर–२ कि खगी विक पनि श्रीमान्कै निर्णयमा सहमति जनाउनुहुन्छ र मतदान गर्नुहुन्छ । “अहिलेसम्म अप्ठ्यारो पनि लागेको छैन, घरमा सल्लाह हुन्छ अनि त्यहीअनुसार मतदान गर्ने गरिएको छ”, विकले भन्नुभयो । साठी कट्न थालेकी चन्द्रा बोहराले पनि श्रीमान् र छोराले भनेकै ठाउँमा मतदान गर्दै आउनुभएको छ । उहाँलाई कहिलेकाहीँ अरु उम्मेदवार राम्रो लागे पनि घरका पुरुषले भनेको कुरा टार्न सक्नुहुन्न । “मलाई धेरै निर्वाचनमा अरु उम्मेदवार राम्रो लागेका छन्, उनीहरू योग्य छन् भन्ने लाग्छ”, उहाँले थप्नुभयो, “तर छोराले, श्रीमान््ले भनेको मान्छु, घरमै धोका दिन मन लाग्दैन ।”

दीपा भण्डारीलाई आफूले इच्छाएको व्यक्तिलाई मत दिनुपर्छ भन्ने थाहा छ तर पनि परिवारले जसलाई जिताउने भन्छन् उसैलाई मत दिइरहनुभएको छ । “हामी अहिलेसम्म राम्रोभन्दा हाम्रा उम्मेदवार जिताउने कोसिस गर्छौं”, उहाँले भन्नुभयो, “यो राम्रो होइन भन्ने थाहा छ । अहिलेसम्म त्यस्तो हिम्मत गरिएको छैन । पारिवारिक सल्लाह हुन्छ । सबै परिवार नै सल्लाहनुसार मत दिन्छौँ ।”

अधिकांश महिलाले मतदान श्रीमान् र परिवारको सहमतिमा गर्ने गरे पनि कतिपय महिलाले स्वविवेक प्रयोगसमेत गर्ने गरेका छन् । उनीहरूले मतदान गोग्य हुने र व्यक्तिगत अधिकार भएकाले इच्छाएको र योग्य उम्मेदरवारलाई मत दिने गरेको बताउँछन् । कैलालीकै वसन्ती फुलाराले हरेक निर्वाचनमा आफूलाई मन परेको उम्मेदवारलाई मत दिनुभएको छ ।

“हाम्रो घरमा त्यस्तो दबाब दिने चलन पनि छैन, मैले मेरो मत कसलाई दिए मलाई मात्र थाहा हुन्छ, त्यसैले क्षमता भएको उम्मेदवार छानेर मत दिन्छु”, उहाँ भन्नुहुन्छ, “मत दिनु नागरिकको व्यक्तिगत अधिकार हो । मत दिने कुरामा कसैको दबाब सहनु हुँदैन । मताधिकार स्वविवेक प्रयोग गरी मनपरेको उम्मेदवारलाई जिताउन प्रयोग गर्छु ।”

एक हजार ८१२ प्रहरी र दुई हजार ८१२ म्यादी प्रहरी परिचालन

यही मङ्सिर ४ गते हुने निर्वाचनमा सुरक्षाका लागि कैलाली जिल्लामा एक हजार आठ सय १२ जना प्रहरी खटिएका छन् । नेपाल प्रहरीको तर्फबाट एक हजार आठ सय १२ जना र दुई हजार आठ सय १२ जना म्यादी प्रहरी खटाइएको छ ।

योसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि निर्वाचनको शान्ति सुरक्षाका लागि खटिएको छ । तीनवटै सुरक्षा निकायको समन्वयमा कैलालीमा निर्वाचनको शान्ति सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

“कैलालीमा सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन प्रकारका मतदानस्थल रहेका छन्”, जोशीले भन्नुभयो, “त्यसैको आधारमा सुरक्षा व्यवस्था मिलाइएको छ ।” कैलालीका पाँचवटै निर्वाचन क्षेत्र र त्यसभित्रका पालिकामा पनि यतिबेला सुरक्षा चुनौतीलाई ध्यान दिएर प्रहरी परिचालन गरिएको प्रवक्ता जोशीले बताउनुभयो । पाँच लाख, ३५ हजार पाँच सय १४ मतदाता रहेका कैलालीमा दुई सय ३७ मतदानस्थल र छ सय २९ मतदान केन्द्र छन् भने आठ अस्थायी मतदानस्थल पनि कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP