प्रयोगविहीन जेब्राक्रसिङ – News Nepal Media
Trend

बढ्दो सहरीकरणसँगै घोराही बजारका मुख्य सडक व्यस्त हुन थालेका छन् । सडकमा सवारीसाधनको चाप बढेपछि दुर्घटना न्यूनीकरणका लागि पैदलयात्रुलाई बाटो काट्नका लागि ‘जेब्राक्रसिङ’ बनाइएको छ ।

सडकपार गर्दा आम पैदलयात्रुले जेब्राक्रसिङको प्रयोग कमै मात्रामा हुने गरेको छ । सडकका ठाउँठाउँमा बनाएका जेब्राक्रसिङबारे नागरिकमा सचेतना पुग्न नसक्दा मनलाग्दी बाटो काट्नेहरु प्रचलन बढेको हो ।

यात्रु जेब्राक्रसिङबाट बाटो नकाटी नजिकैबाट मनलाग्दी बाटो काटिरहेका देखिन्छन् । साथै, सवारी चालकले पनि जेब्राक्रसिङलाई वास्ता नगरी सवारी हाँकेको देखिन्छ । जेब्राक्रसिङमा पुग्दा सवारी साधनको गति कम हुनुपर्छ ।

घोराहीमा भेटिनुभएका रोल्पाका बीरबहादुर मगरले आफूलाई जेब्राक्रसिङबारे जानकारी नभएको बताउनुभयो । “मलाई जेब्राक्रसिङ केका लागि हो भन्ने थाहा थिएन”, उहाँले भन्नुभयो, “सबै पैदलयात्रुलाई जेब्राक्रसिङबारे जानकारी नहुनसक्छ । यस विषयमा सम्बन्धित निकायले जानकारी दिन आवश्यक
छ ।”

बजारमै भेटिनुभएका कमला थापाले समेत सडक पार गर्दा जेब्राक्रसिङ प्रयोग गर्नुभएन । उहाँसँगै रहेका अन्य व्यक्तिले समेत जेब्राक्रसिङ नजिकैबाट सडक पार गरे । “मलाइ हतार थियो”, उहाँले भन्नुभयो, “जेब्राक्रसिङबाट सडक पार गर्न अलि माथि जानुपथ्र्यो । हतार भएकाले तलैबाट हिँडियो ।”

उहाँहरु जस्तै जानकारी नभएर र हतारमा सडक पार गर्ने सर्वसाधारणको सङ्ख्या धेरै छ । जसले गर्दा सडक सुरक्षाका लागि बनाइएका जेब्राक्रसिङ प्रयोगविहीन छन् । यसले दुर्घटनाको जोखिम बढाएको
छ । सडक नियम पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बताउनुभयो ।

“धेरैलाई जेब्राक्रसिङको प्रयोगबारे चेतना छैन”, उहाँले भन्नुभयो, “कोही जानकारी भएर पनि अटेर गरी हिँड्छन् ।” कतिपय ठाउँमा जेब्राक्रसिङ पनि मेटिदै जान थालेको र यसको मर्मत गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयको भएको हुँदा आफूहरुले पनि पहल गरेको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा चार महिनामा दाङमा सवारी दुर्घटनाका कारण १६ जनाको मृत्यु भइसकेको छ । जसमा ६० जना सामान्य घाइते भएका छन् भने ३५ जना गम्भीर घाइते भएका छन् । जसमा ४० वटा सवारी दुर्घटना भएका थिए ।

यसैगरी गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनामा ९५ जनाको मृत्यु भएको थियो । एक सय ९५ जना गम्भीर घाइते भएका थिए भने एक सय ४० सामान्य घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख परियारले अहिले निर्वाचनको समय भएकाले निर्वाचनपछि ट्राफिक सचेतनाका विभिन्न कार्यक्रम सञ्चान गरिने बताउनुभयो । कतिपय नागरिकलाई सडकपार गर्दा जेब्राक्रसको प्रयोग गर्नुपर्छ भन्ने जानकारी हुँदैन भने कतिपय शिक्षित नागरिकले पनि यसको प्रयोग गर्न झन्झटिलो मान्ने गरेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP