गाउँ पर्यटनका ‘पिता’ गुरुङका नाममा उद्यान – News Nepal Media
Trend

गाउँ पर्यटनका आरम्भकर्ता क्याप्टेन रुद्रमान गुरुङका नाममा यहाँ स्मृति उद्यान निर्माण हुँदै छ । सामुदायिक घरबासका ‘पिता’ले समेत चिनिने स्याङ्जाका गुरुङको सम्झनामा बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा उद्यान निर्माण हुन लागेको हो ।

गुरुङको अगुवाइमा विसं २०५४ मा स्याङ्जाको सिरुबारीमा नेपालकै पहिलो सामुदायिक घरबास (होमस्टे) खुलेको थियो । त्यही बेलादेखि सिरुबारी ग्रामीण पर्यटनको गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो । नेपालमा सबैभन्दा पहिले गाउँ पर्यटनको अवधारणा लागू गर्नमा गुरुङले पु¥याएको योगदानलाई चीरस्थायी बनाउन उद्यान निर्माण सुरु गरिएको भकुण्डेस्थित अतिथि सत्कार घरबासका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

घरबास सञ्चालक समितिले गण्डकी प्रदेशको पर्यटन मन्त्रालय र वडाको लगानीमा उद्यानको काम अघि बढाएको हो । अध्यक्ष थापाका अनुसार गत र चालु आवमा गरी मन्त्रालयबाट रु २० लाख बजेट आएको छ । यस्तै चालु आवका लागि वडाले पनि रु पाँच लाख बजेट दिएको

छ । “होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको बजेटलाई उद्यान निर्माणमा खर्चेका हौँ, वडाको पनि बजेट परेको छ”, अध्यक्ष थापाले भन्नुभयो, “नेपालमा गाउँ पर्यटन र होमस्टेको अवधारणा भित्र्याउने पहिलो व्यक्तिको नाममा पार्क बनाउँदा अन्यत्रको भन्दा नयाँपन देखिने र रुद्रमान गुरुङप्रति सम्मान पनि भल्कन्छ ।”

एक सय ८० मिटर लम्बाइ र ४० मिटर चौडाइमा निर्माणाधीन उद्यानमा हालसम्म घेराबार, प्रवेशद्वार, सालिक राख्ने ठाउँलगायत संरचना बनिसकेका छन् । उद्यान परिसरमा सामुदायिक भवन, गुम्बा, बगैँचा, टिकट कक्ष, शौचालयलगायत पूर्वाधार बनाउन बाँकी छ । उद्यानको बीचमा गुरुङको अर्धकदको सालिक राखिनेछ ।

“पार्कका लागि झण्डै सवा पाँच करोडको डिपिआर बनेको छ, बेलैमा बजेटको जोहो हुन सक्यो भने उद्यान निर्माणले छिट्टै पूर्णता पाउनेछ”, अध्यक्ष थापाले भन्नुभयो, “आउँदो आवका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ ।” उद्यान निर्माणमा स्थानीयवासीको श्रमदानसमेत परेको छ । उद्यान बनेपछि भकुण्डेमा नयाँ आकर्षण थपिने र त्यसले पर्यटन विकासमा टेवा पुग्ने ठानिएको छ ।

वडाध्यक्ष तिलबहादुर थापाले ग्रामीण पर्यटनका दृष्टिले भकुण्डेले प्रचुर सम्भावना बोकेको उल्लेख गर्नुभयो । उहाँले भकुण्डेमा पर्यटनमैत्री पूर्वाधारको भने खाँचो औँल्याउनुभयो । “यहाँ जोडिने सडकलाई सहज र स्तरीय बनाउन आवश्यक छ, यो विषय वडाको मात्र क्षमता र काबुमा नहुने रहेछ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष थापाले नगरपालिकामार्फत् पर्यटकीय पूर्वाधार निर्माणका लागि बजेट र स्रोत जुटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । सदरमुकामदेखि १० किमि कच्ची सडकको यात्रामा भकुण्डे पुगिन्छ । पैदल जाँदा भने दुई घण्टा लाग्छ । सहरको कोलाहल र प्रदूषण पन्छाएर छिनभरमै पुगिने गन्तव्य हो, भकुण्डे ।

गाउँले जीनजीवन, संस्कृति, रहनसहन, लोभलाग्दो भू–बनोट र हावापानी त्यहाँका आकर्षण हुन् । अतिथि सत्कार घरबासले पनि भकुण्डेलाई टाढासम्म चिनाएको छ । आन्तरिकदेखि बाह्य पर्यटक घुमफिरका लागि भकुण्डे पुग्छन् । त्यहाँका ११ घरमा घरबास सेवा छ । गाउँले खानपान र पारिवारिक बसाइँका लागि पर्यटकले घरबास रोज्छन् ।

घरबाससँगै ‘भ्यूटावर’, बराहताल, बराह, भैरव मन्दिर, सङ्ग्रहालय, कुथुकर्मको लेक आदि भकुण्डेका पर्यटकीय आकर्षण हुन् । सरकारले भकुण्डे–भैरवस्थान–गाजाको दह समेटेर पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृतसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP