जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव – News Nepal Media
Trend

रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका यहाँका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन् । उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा गनेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले केन्द्रमा ग्यास्टिक र रुघाखोकीको मात्र औषधि उपलब्ध छ ।

हातखुट्टा तथा जोर्नी दुख्ने समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका छन् । झन यही समस्यासम्बन्धीको औषधि गएको वर्ष पुस महिनादेखि नै नभएको डा अधिकारीले बताउनुभयो । औषधि अभाव भएको लामो समयपछि अहिले खरिद प्रक्रिया अघि बढाइएको छ । डा अधिकारीका अनुसार आवश्यक पर्ने औषधिको खरिद प्रक्रिया अघि बढिसकेका कारण यही असारको अन्तिम सातासम्ममा रुकुमकोट औषधि आइपुग्ने भएको छ । साथै बिजौरीस्थित आयुर्वेद चिकित्सालयबाट पनि केही औषधि ल्याउन लागिएको छ ।

सेवा प्रवाह चलिरहेको बेलामा आयुर्वेद स्वास्थ्य केन्द्रमा हात, जोर्नी तथा नशासम्बन्धी, पायल्स, फिस्टुला, फिसरको समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका थिए। यसैगरी ग्यास्टिक, श्वासप्रस्वाससम्बन्धी समस्या, महिनावारी गडबड, छाला तथा मुखको समस्या, मधुमेह र रक्तचापका बिरामी पनि आउने गर्दछन् ।रुकुमपूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको जेठ २६ गतेदेखि सेवा सुरु गरेको थियो ।
महिलामा पाठेघरको समस्या

रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ८९२ जनाले सेवा लिएका छन् । आइतबार र सोमबार आयोजना गरिएको बाल तथा स्त्रीरोगसम्बन्धी शिविरमा १३७ महिला तथा ७५५ विद्यार्थी बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो । सिस्ने गाउँपालिकाको युवा विकास केन्द्रको संयोजनमा नेप्लिज एशोसिएशन अफ फोलोरिडाको आर्थिक सहयोगमा पल्मोनरी हाइपरटेन्सन एशोसिएशन नेपाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र ग्लोबल नेप्लिज आइसिटी कोनसोरटिइमको प्राविधिक सहयोगमा रुकुमकोटमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सेवा लिएकामध्येमा १२ मुटु रोगको बिरामी फेला परेकामा दुई जनाको भने शल्यक्रिया नै गर्नुपर्ने देखिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । सात महिनाका अटम खड्का र ११ वर्षको रेजिना बुढाको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको हो । यस्तै १० जनाको पुनः स्वास्थ्य जाँच गर्नुपर्ने भएको छ । अन्यको अवस्था भने सामान्य रहेको छ ।

एक महिलाको पाठेघरको मुखको क्यान्सर देखिएको छ भने अन्य पाँच जनामा क्यान्सर भएको हुनसक्ने आशङ्का गरिएको छ । पाठेघर खस्ने समस्या छ जनामा र स्तन क्यान्सरको आशङ्का एक जनामा गरिएकोे छ । यस्तै रुघाखोकी, सामान्य पेट दुखाइ, कानको समस्या, ज्वरो र ग्यास्ट्रिकका बिरामीलाई औषधि वितरण गरिएको छ । अन्यको अवस्था सामान्य रहेको पाइएको छ । आएका सबैलाई आवश्यक सल्लाह सुझाव पनि दिइएको सो शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पिएचए नेपाल काठमाडौँका चिकित्सक सहभागी भएको स्थानीय युवा विकास केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP