भरतपुरलाई सुन्दर र लगानीमैत्री सहर बनाइने – News Nepal Media
Trend

चितवन, ७ असार (रासस)ः भरतपुर महानगरपालिकालाई हरियाली, सुन्दर र लगानीमैत्री सहरको रुपमा विकास गरिने भएको छ । पहिलो कार्यकालमा भौतिक पूर्वाधारमा बढी जोड दिनुभएकी प्रमुख रेनु दाहालले दोस्रो पटक पनि निर्वाचित भएसँगै भौतिक सुधारसँगै सुन्दर सहर बनाउने योजना अघि सार्नुभएको हो ।महानगरका सहरी क्षेत्रमा भौतिक निर्माणका काम भइरहेका छन् । ती कामसँगै हरियाली र सुन्दरतामा जोड दिने उहाँको भनाइ छ । नेपालकै नमूना सहर बनाउने परिकल्पना आफूसँग रहेको भन्दै महानगर प्रमुख दाहाल बाहिरबाट आउने जो कोहीका लागि पनि फरकपन दिन सक्ने गरी काम अघि बढाउन लागिएको बताउनुहुन्छ । महानगरभित्र लगानी गर्ने वातावरण सिर्जना गरिँदै

छ । उहाँ भन्नुहुन्छ, “अब हामी लगानीमैत्री वातावरण बनाएर रोजगारी सिर्जना गर्दैछाँै ।”

मेडिकलसिटी, गुणस्तरीय शिक्षाको हव तथा दिगो विकासमैत्री पूर्वाधारको सहरका रुपमा विकास गरी देशका स्थानीय तहहरुको आदर्श बेञ्चमार्कको रुपमा स्थापित गर्ने सपना र योजना रहेको महानगर प्रमुख दाहाल बताउनुहुन्छ । महानगरपालिकाले आफ्नो प्राथमिकतामा व्यवस्थित ढल, विकास सञ्जाल निर्माण, राप्ती तथा नारायणी नदीको तटबन्धको पूर्णता, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्णता, भरतपुर विमानस्थल विस्तार, महानगरपालिकको प्रशासकीय भवन निर्माण, नारायणीमा सिग्नेचर पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने पक्की पुललाई राखेको छ ।

शीतभण्डार निर्माण, राप्ती तटबन्ध, आकाशे पुल, ट्राफिक लाइट, स्मार्ट सडक बत्ती जडान, अटोल्याण्ड निर्माण, नगरस्तरीय पार्क, देवनगर विद्युतीय सवस्टेशन लाइन निर्माण, व्यवस्थित पशु बधशालालगायत गौरवका परियोजना समयमै निर्माण गर्ने गरी काम अघि बढाइएको छ ।महानगरपालिको दिगो फोहोर व्यवस्थापनका लागि कोरियन सरकारसँग जीटुजी विधिद्वारा हुन गइरहेको समझदारीलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन पहल भइरहेको उहाँ जानकारी दिनुहुन्छ । महानगरपालिकाले अबको पाँच वर्षमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको समेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।

महानगरभित्रका सबै टोल सुधार समितिलाई टोल सुरक्षा, जनसङ्ख्याको अभिलेख, सडक हरियाली, सडक बत्ती, फोहोर सङ्कलन र रु एक लाख बराबरको टोल सुधार तथा विविध मर्मत कार्यक्रमको कार्यविधि बनाई उक्त समितिलाई सशक्तीकरण गरिने भएको छ । महानगरपालिकाको आन्तरिक आम्दानी बढोत्तरीको गर्न कर शिक्षा, कर सचेतनाजस्ता कार्यक्रममा यस्ता समितिलाइ परिचालन गरी सबै करदातालाई करको दायरामा ल्याउन अभिप्रेरित गरिने भएको छ । सहकारीलाई उत्पादन र बजारसँग जोड्ने तयारी महानगरको छ ।

सम्पूर्ण उत्पादनलाई ब्राण्डिङ गरी ‘मेड इन भरतपुर’ को अभियान चलाइने महानगर प्रमुख दाहाल जानकारी दिनुहुन्छ । निर्माणाधीन रिङरोडलाई पूर्णता दिइँदै छ । महानगरभित्रका बाँकी सडक कालोपत्रे गरिने भएको
छ । मेघौली विमानस्थललाई कालोपत्र गर्ने गृहकार्य सुरु भएको छ । कमाउँदै सिक्दै कार्यक्रमलाई विद्यालयमा लागू गर्दै लगिने भएको छ ।

स्वास्थ्य क्षेत्रको समग्र विकास र विस्तार गर्ने लक्ष्यका साथ भरतपुर केन्द्रीय अस्पताललाई मेडिकल कलेजसहित विशेषज्ञ सेवा प्राप्त गर्ने अस्पतालको रुपमा विकास गरिने र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँ बताउनुहुन्छ ।
शैक्षिक सुशासनसहित उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने विद्यालयका प्रधानाध्यापकलाई प्रोत्साहन र सम्मान प्रदान गर्न लागिएको छ । आउँदो छ महिनाभित्र महानगरभित्र मुख्य सडकमा विद्युतीय बस सञ्चालन गरिने भएको छ । उक्त बसमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिने छ । महानगरपालिकाभित्रको सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुको लागि छोरी बिमा योजना लागू गरिएको छ । महानगरपालिकाभित्रका सात हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताको खानेपानी महसुल महानगरपालिकाले उपलब्ध गराउने भएको छ ।

महानगरभित्रका सबै आमा समूह, युवा क्लबलाई उत्पादनमा जोडी रोजगारमूलक कार्यक्रम सञ्चालन गरिनाका साथै औधोगिक पाठशालामार्फत तालिम र रोजगार बैक मार्फत रोगारको सुनिश्चिता प्रदान गर्ने महानगरको योजना रहेको छ । युवा वर्गलाई ध्यान दिँदै रङ्गशाला, कवर्डहलसँग जोडी, युवा सशक्तीकरण कार्यक्रम ल्याइनुका साथै महानगरभित्र विभिन्न स्थानमा स्मार्ट शौचालय सञ्चालन गरिने छ । महानगरले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ । महानगरप्रमुख दाहाल भन्नुहुन्छ, “विज्ञहरुसँग छलफलमा नै छाँै । अरु महत्वपूर्ण कार्यक्रम पनि थप हुने छन् ।” महानगरपालिका यतिबेला विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफलमा रहेको छ । देशको प्रदेश राजधानी बन्ने अवसर नपाए पनि भरतपुरलाई नमूना सहर बनाउनुपर्ने यहाँका विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP