कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार छ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ आठ हजार दुई सय ६५ मत प्राप्त गर्दै अघि हुनुहुन्छ भने उहाँलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले सात हजार एक सय १६ मतसहित पछ्याउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दुई हजार दुई सय ११ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले आठ सय ३६ मत ल्याउनुभएको छ ।
उक्त क्षेत्रको प्रदेशसभा (२)मा १९ हजार छ सय ५१ मत गन्दा पाँच सय ८२ मत बदर भएको छ । जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि एमालेका बेदबहादुर गुरुङ आठ हजार सात सय तीन मतसहित अघि हुनुहुन्छ भने कांग्रेसका दीपक गुरुङले सात हजार पाँच सय ७७ मतसहित उहाँलाई पछ्याउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले एक हजार सात सय१७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले छ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ १९ हजार नौ सय २३ मतगणना गरिएकामा छ सय ५७ मत बदर भएको थियो । यसमा एमालेले सात हजार ४७ मत ल्याएको छ भने कांग्रेसले पाँच हजार चार सय ४४ मत ल्याएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ७५ मत, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एक हजार चार सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ३८ मत, नेकपा (एकीकृत समाजवादी)ले एक सय ३८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं १(२)मा एमालेले चार हजार सात सय १५ मत, कांग्रेसले तीन हजार छ सय ५२, राष्टिय स्वतन्त्र पार्टीले तीन हजार तीन सय ६०, एकीकृत समाजवादीले तीन सय २६ मत पाएको छ । यस क्षेत्रको प्रदेशसभा (२) मा समानुपातिकतर्फ १९ हजार छ सय ४० मतगणना हुँदा आठ सय २८ मत बदर भएको छ । गणनामा एमालेले सात हजार आठ सय २८, कांग्रेसले छ हजार दुई, माओवादी केन्द्र/नेपाल समाजवादी पार्टीले एक हजार सात सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार छ सय ६९ मत, हाम्रो नेपाली पार्टीले पाँच सय ३१ मत, एकीकृत समाजवादीले तीन सय ४० मत पाएका छन् ।