बागलुङ–१ (१) मा कांग्रेसका थापा र २ (१) मा कांग्रेसका शेरचन विजयी – News Nepal Media
Trend

बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ ।

थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार हुनुहुन्थ्यो । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गर्नुभएको छ ।

बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ ।

बागलुङ–२ (१) मा कांग्रेसका शेरचन विजयी

बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी हुनुभएको छ । शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गर्नुभएको हो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभएको छ ।

शेचरन पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो भने घर्तीलाई नेकपा (एमाले)ले सघाएको थियो । यस क्षेत्रमा शेरचन र घर्तीबाहेक अन्य उम्मेदवार थिएनन् । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बन्नुभएको थियो । ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो । आठ सय ६४ मत बदर भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP