शुक्रबार , बैसाख ५, २०८२
रुकुम (पूर्व)का तीन वटै क्षेत्रमा ‘बागी’को डर – News Nepal Media
Trend

रुकुम (पूर्व), २८ कात्तिक (रासस) : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्रै बाँकी छँदा यहाँका उम्मेदवारहरुले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् । मनोनय दर्तापछि घरदैलो हुँदै सुरु भएको प्रचारप्रसार यतिबेला सभा, भेला, आन्तरिक छलफलमा केन्द्रित छन् ।

रुकुम(पूर्व) मा प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । यी तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारीले निर्वाचनमा रौनकता थपेको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती मगर उम्मेदवार हुनुहुन्छ । तर उहाँको विरुद्धमा माओवादी केन्द्रका चन्द्रराज झाँक्री बागी उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा नेकपा (एमाले)का कैलाशकुमार मल्ल उम्मेदवार हुनुहुन्छ । मल्ल यसअघि माओवादी केन्द्रमा हुनुहुन्थ्यो । उहाँ गत स्थानीय तहको निर्वाचन अघि एमालेमा प्रवेश गर्नुभएको थियो । तीन जना उम्मेदवार नै विगतमा माओवादी पृष्ठभूमिबाट आएकाले मत कस्ले बढी तान्छ भन्नेमा बहसको विषय बनेको छ ।

रुकुम(पूर्व) मा विगतका निर्वाचनको मतपरिणाम हेर्दा माओवादी केन्द्र हावी देखिन्छ । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती गत निर्वाचनमा प्रदेशसभा २ बाट निर्वाचित भइ लुम्बिनी प्रदेशको सभामुख निर्वाचित भइसक्नु भएको छ ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेद्वार हुनुहुन्छ । उहाँ गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी हुनु भएको थियो । तर यसपटकको निर्वाचनमा उहाँ विरुद्ध सुरुल पुनले बागी उम्मेदवारी दिनु भएको छ । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरिसकेको छ ।

प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेद्वार हुनुहुन्छ । तर सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध माओवादी केन्द्रका केशव रावलले बागी उम्मेदवार दिनु भएको छ । रावल माओवादी केन्द्र विद्यार्थी सङ्गठनका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँहरुसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट भावना बुढाथोकी उम्मेदवार हुनुहुन्छ ।

माओवादी र कांग्रेसबीचमा चुनावका लागि गठबन्धन भए पनि पार्टीभित्रको असन्तुष्टिको फाइदा एमाले उम्मेदवारलाई हुनसक्ने मतदाताबीच आँकलन गरिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा तीन वटै पालिका प्रमुख र दुई वटा गाउँपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने एमाले–कांग्रेस गठबन्धनबाट एमाले उम्मेदवारले एउटा पालिका उपप्रमुख जितेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा ३१ वडामध्ये नेकपा माओवादी केन्द्रले २२ वटा, नेपाली कांग्रेसले तीन र नेकपा एमालेले ६ वटा वडामा जित हासिल गरेका थिए ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर घर्ती मगरले सङ्घीयता कार्यान्वयन र यस क्षेत्रको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको दाबी गर्दै आउनुभएको छ ।

“पहिलो कार्याकालमा कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा विभिन्न काम सुरु गरेको छु, अब त्यसलाई पूर्णता दिन र नयाँ एकीकृत योजनाका साथ काम गर्नेछु ।” जनतालाई ठूलो आश देखाउनुभन्दा यहाँका समस्या समाधानमा केन्द्रित हुने उहाँको भनाइ छ ।

नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले पनि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलाई चुनावी एजेन्डा बनाउनु भएको छ ।

प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका तेजबहादुर ओलीले सडक निर्माण तथा बिस्तार, एकीकृत बस्ती विकास, खानेपानी, बिजुली, सञ्चारको मुद्दा अगाडि सार्नु भएको छ ।

“घरघरमा इन्टरनेटको पहुँच, सामूहिक र आधुनिक कृषिको लागि अनुदान, सहुलियतमा ऋण, उत्पादनको बजारीकरण, प्रशोधन, पर्यटनको विकास मेरा मुख्य एजेन्डा हुन्”, उहाँले भन्नुभयो । उहाँले खानी र वनजन्य उद्योगमार्फत् अर्थतन्त्रमा सुधार, खेलकुद, शिक्षामा व्यवस्थित पूर्वाधार, सेवा प्रवाहमा सुशासन, समावेशिता, पारदर्शीताका लागि काम गर्ने उहाँको भनाइ छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार सुरुल पुनले यहाँको भूगोल, समूदाय, जातिका मुद्दालाई मुख्य एजेण्डा बनाउनुभएको छ । पिछडिएको क्षेत्र, वर्ग र समूदायबाट नेतृत्व गर्दै विकासलाई विशेष जोड दिने उहाँको दाबी छ ।

निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार धनबहादुर केसीले भने आफू निर्वाचित भए सरकारी सेवा सुविधा नलिने बाचा गर्नुभएको छ ।

नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार, कृषिको व्यावसायिकीकरणका लागि काम गर्ने बताउनुभयो ।

प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार केशव रावलले पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगार÷स्वरोजगार, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा सञ्चार, खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने दाबी गर्नुभएको छ ।

तर पटक–पटक निर्वाचित भए पनि नेताहरुले अपेक्षा गरे अनुसारको विकास नगरेको सिस्ने गाउँपालिका ५ की स्थानीय फुर्ची बुढाको भनाइ छ । “स्थानीय स्तरमै रोजगारी नहुँदा कैयन युवाहरु विदेशिन बाध्य भएका छन्, यो समस्या समाधान भए जीवनस्तर सहज हुने थियो ।”

भौगोलिक दृष्टिले विकट मानिने यस जिल्लामा कुनै स्थानबाट वडा कार्यालयसम्म पुग्न पनि एक दिनको समय लाग्छ । यहाँका नागरिकहरुले सामाजिक सुरक्षा वापतको भत्तामा बैकिङ प्रणालीबाट सहज नभएको भन्दै वडा कार्यालयले नै वितरण गर्नुपर्ने माग गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । कार्यालयले कात्तिक १८ देखि मतदाता शिक्षा सञ्चालन गरिरहेको छ । जिल्लामा ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र छन् । साथै, एउटा अस्थायी मतदानस्थल थप गरिएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार मदतानस्थल र मतदान केन्द्रमा सुरक्षाकर्मी र स्वयमसेवकबाहेक चार सय ४८ जना कर्मचारी खटिने छन् ।

जिल्लामा मतपत्र ढुवानी र प्याकिङको काम पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकिएको छ ।

जिल्लामा ३४ हजार एक सय १२ मतदाता छन् । जसमा महिला १६ हजार आठ सय ९७ र पुरुष १७ हजार दुई सय १५ छन् । तीन वटा मात्र गाउँपालिका रहेको जिल्लामा ३१ वटा वडा छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका १४ वटा वडा र भूमे गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पर्छन् । प्रदेशसभा २ मा भूमे गाउँपालिकाका ४, ५, ८ र ९ नम्बर वडासँगै सिस्ने गाउँपालिकाका ८ वटा वडा पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP